Himwatkhanda Vastu Pvt. Ltd.
VASTU ANTHEM
कृत्रिम उज्यालोको आतंक : मानव स्वास्थ्यदेखि खेतीपातीसम्मको संकट

कृत्रिम उज्यालोको आतंक : मानव स्वास्थ्यदेखि खेतीपातीसम्मको संकट

रातलाई दिन बनाउने प्रवृत्ति : प्रकृति, प्राणी र मानवमाथिको खतरा रातभरि बल्ने कृत्रिम झिलिमिली बत्तीले मानव स्वास्थ्य, जीवजन्तुको प्राकृतिक दिशा प्रणाली, बिरुवाको वृद्धि तथा खेतीपातीको प्राकृतिक चक्रमा गम्भीर असर पुर्‍याउँदै प्रकृतिको सन्तुलन बिगारिरहेको छ। चम्किलो विकासको नाममा बढ्दो प्रकाश प्रदूषण दीर्घकालमा पर्यावरण र जीवन दुवैका लागि खतरा बन्दै गएको छ। झिल्के विकासको चमकभित्र अन्धकार लुकेको छ।

रातलाई दिन बनाउने प्रवृत्ति : प्रकृति, प्राणी र मानवमाथिको खतरा 

    सजावट अस्थायी हो तर प्रकृति र जीवन स्थायी हो l  कृषि प्रधान देश भनेर चिनिने नेपालका धेरै पालिकाहरुमा आजकल बाटो, पोल, रुखहरुमा झिलिमिली बत्तीहरु जडान गरी रातभरी बाल्ने कार्य भईरहेको देखिन्छ, यो झिल्के विकास बढिरहेको छ l रातभरि बल्ने कृत्रिम झिलिमिली बत्तीले मानव स्वास्थ्य, जीवजन्तुको प्राकृतिक दिशा प्रणाली, बिरुवाको वृद्धि तथा खेतीपातीको प्राकृतिक चक्रमा गम्भीर असर पुर्‍याउँदै प्रकृतिको सन्तुलन बिगारिरहेको छ। चम्किलो विकासको नाममा बढ्दो प्रकाश प्रदूषण दीर्घकालमा पर्यावरण र जीवन दुवैका लागि खतरा बन्दै गएको छ। झिल्के विकासको चमकभित्र अन्धकार लुकेको छ।

एकचोटी हामीले यसले हामीलाई गर्नसक्ने अहित को बारेमा पनि बुझ्नु पर्दछ l यसले कतै हाम्रो घर, चराचुरुंगीको घर, हामीलाई सहयोग गर्ने किरा फट्यांग्राको घरलाई नै असर पुर्याएको त छैन?  

                 

झिलिमिली बत्ती रातभरी बालिदिनाले मानव, प्रकृति, जीवजन्तु, खेतीपातीमा पुर्याउने असरहरु-

 

१) बालीको प्राकृतिक चक्र बिग्रिन्छ र उत्पादन घट्छ

धेरै बालीहरू दिन–रात (photo-period) को आधारमा बढ्छन्। राति धेरै उज्यालो हुँदा फूल लाग्ने, दाना बस्ने समय ढिला हुन्छ तसर्थ धान, गहुँ, तोरी, तरकारी बालीमा उत्पादन घट्ने सम्भावना हुन्छ। धान जस्ता छोटो दिनमा फूल्ने बालीहरूमा फुल्ने समय ढिलो हुन्छ। जीन तहमा प्रकाश-अवधि (फोटोपीरियड) सम्बन्धी नियमनमा अव्यवस्था हुँदा अन्ततः अन्न उत्पादन घट्ने देखिन्छ।

 

 २) आँखा र स्नायु प्रणाली (Neuro Science)

राति यस प्रकारका झिलिमिली बत्तीहरू उच्च कन्ट्रास्ट र झिमझिमाहट (फ्लिकर) सहित देखिँदा आँखाले पटक–पटक तनाव भोग्नुपर्दा आँखाका मांसपेशीहरू थाक्ने, टाउको दुख्ने, माइग्रेन बढ्ने तथा बालबालिकामा ध्यान केन्द्रित गर्न कठिनाइ हुने जस्ता असरहरू देखिन सक्छन्।

३) जीव–जन्तुको दिशानिर्देशन प्रणाली

राति सक्रिय रहने चराचुरुङ्गी, कीरा तथा चमेराले चन्द्रमा, ताराहरू र पृथ्वीको चुम्बकीय क्षेत्रको सहारा लिएर आफ्नो दिशा पहिचान गर्छन्। तर कृत्रिम प्रकाशका कारण उनीहरूको यो दिशानिर्देशन प्रणाली अव्यवस्थित हुन्छ, जसलाई पारिस्थितिक प्रकाश प्रदूषण भनिन्छ।

४) बिरुवाको फोटो-पिरियोडिज्म

बिरुवाले दिनको लम्बाइ अनुसार फूल/फल बनाउँछन् तर राति यी झिलिमिली बत्ती पर्दा बिरुवाले “रातै छैन” भनेर बुझ्छ अनि फूल ढिला लाग्ने /असामान्य हुने, वृद्धि असन्तुलित, दीर्घकालमा बोटबिरुवा कमजोर हुन्छ अनि यो बत्तिको आसपासमा खेती गर्दा उत्पादन घट्छ सक्ने सम्भावना रहन्छ l 

५) प्रकाश प्रदूषण (ऊर्जा + वातावरणीय नोक्सान)

राति यस प्रकारको झिलिमिली बत्ती हुँदा आकाशमा तारा देखिँदैन, अनावश्यक बिजुली खपत हुन्छ, जीवाश्म इन्धनबाट CO₂ बढ्छ र यसले जलवायु परिवर्तनमा अप्रत्यक्ष योगदान पुर्‍याउँछ, जुन हामी सबैका लागि घाटा हो।

६) मानव शरीरको जैविक घडी (Circadian Rhythm)

हाम्रो शरीर २४ घण्टे जैविक घडीमा चल्छ। राति अँध्यारो हुँदा मेलाटोनिन हर्मोन निस्कन्छ। तर निलो वा सेतो LED बत्तीले मेलाटोनिन ३०–७०% सम्म घटाउँछ। यसको परिणाम स्वरूप अनिद्रा, थकान, स्मरणशक्ति घट्ने, दीर्घकालीन रूपमा मधुमेह र मुटु समस्या हुने जोखिम, मानसिक स्वास्थ्यमा असर, आरामदायी हर्मोन बन्द हुनु र तनाव हर्मोन (Cortisol) बढ्नु जस्ता समस्या देखा पर्नेकुरा मेडिकल अनुसन्धानले प्रमाणित गरेको छ।

७) हानिकारक किराहरू बढ्छन्

झिलिमिली बत्तीले किसानको उत्पादनमा साथीको भूमिकामा रहने प्राकृतिक रूपमा किरा खाने भ्यागुता, चमेरा, चराहरु टाढा जान्छन् जुन बालि उत्पादन घट्ने प्रमुख कारण बन्दछ।

८) परागण (Pollination) मा असर

झिलिमिली बत्तीले मौरी, पतंगा जस्ता परागकण सार्ने कीराहरूलाई दिशा भुल्न बाध्य पार्छ। यसले फलफूल र तरकारीमा फल लाग्ने दर घटाउने समस्या उत्पन्न गर्छ। रातिको उज्यालोले बोटको रूप र प्रजनन क्षमता कम गर्छ, फूलको संख्या र बीउ उत्पादन घटाउँछ र दीर्घकालीन रूपमा उत्पादनमा गिरावट आउँछ।

९) माटोको जैविक सन्तुलन बिग्रिन्छ

राति सक्रिय हुने किरा तथा सूक्ष्म जीवहरूको प्राकृतिक व्यवहार बिग्रिन्छ, जसले गर्दा माटोको उर्वराशक्ति क्रमशः घट्दै जान्छ। फलस्वरूप, किसानहरूले रासायनिक मलको मात्र प्रयोग बढाउनु पर्ने हुन्छ। उत्पादन घट्दा र रासायनिक विषादीको प्रयोग बढ्दा थप नोक्सान हुन्छ र किसानलाई आर्थिक घाटा पुग्छ। कृत्रिम प्रकाशले भूमिगत जीवहरू—जसले माटो उर्वरा बनाउने कार्य गर्छन्—लाई प्रभावित गर्छ। रातिको कृत्रिम बत्तीले गडेउलाहरूको गतिविधि घटाउँछ, माटोको पानी र पोषक तत्त्वको प्राकृतिक चक्र बिग्रिन्छ, र दीर्घकालमा माटोको स्वास्थ्य तथा बालीको स्थायित्वमा नकारात्मक असर पर्छ।

१०) ऊर्जा प्रवाह (Prana / Vastu energy) वास्तुमा बाधा

     वास्तुशास्त्र अनुसार घरको चारैतिरको सकारात्मक ऊर्जा (Prana) सतत प्रवाहमा रहनुपर्छ। अत्यधिक चम्किलो वा झिलिमिली बत्तीले ध्रुवीय (disruptive) ऊर्जा उत्पन्न गर्छ। यसले घरमा अशुभ प्रभाव, तनाव, विवाद वा अनावश्यक उत्तेजना ल्याउछ।

११) बालीको पानी प्रयोग प्रणाली बिग्रन्छ

बोटबिरुवाले राति विश्राम गर्नै पर्छ। निरन्तर झिलिमिली उज्यालोले सास फेर्ने क्रियालाई बढाउँछ, जसले गर्दा बोट कमजोर हुन्छ र उत्पादन कम हुन्छ। कृत्रिम रात्री प्रकाश (ALAN) ले बोटको वृद्धि ढाँचा र पोषणको वितरण परिवर्तन गर्छ र धेरैमा तनाव प्रतिक्रिया बढाउँछ। यसले प्राकृतिक वन र कृषि पारिस्थितिकी तन्त्रलाई असन्तुलित बनाउँछ।

१२) वार्डमा चराचुरुंगीहरु लोप हुने क्रम बढ्छ

रुखहरुको नजिक झिलिमिली बत्ती रातमा बलिरहदा रुखमा गुड लगाएर बस्ने चराचुरुंगीहरुलाई असर गर्छ, यहि कारणले उनीहरु यस छेत्र छोडेर अन्यन्त्र जान बाध्य हुन्छन्। हाम्रो छेत्रलाई आधार बनाएर रहेका चराचुरुंगी हामीले जोडेकै झिलिमिली बत्तिको कारणले अन्यत्र जाने अवस्था सिर्जना गर्नु राम्रो हुदैन, यो प्रकृति मानवको मात्र पनि होईन भन्ने मानवीय गुण धर्म हामीले कहिल्यै भुल्न हुदैन। 

ॐ सर्वे भवन्तु सुखिना: सर्वे सन्तु निरामयाः ।

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् ।।

ॐ शान्तिः शान्तिः शान्तिः ॥

                                 -वास्तुविद ई. लक्ष्मी प्रसाद सोती

Share this article

Gallery & Videos

Explore our latest work and video content